देशभर बाढीपहिरो: २१ सडक अवरुद्द, आधा दर्जनबढी विद्युत आयोजना बन्द

विगत ३ दिनदेखिको परेको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसबाट मुलुकभरका विभिन्न राजमार्गका २१ सडक प्रभावित भएका छन् भने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना बन्द भएका छन् ।

सडक विभागका अनुसार बाढीपहिरोबाट २१ सडकमध्ये आठ ठाउँका सडक पूर्ण अवरुद्ध भएका छन् भने तीनओटा सडक भने दुईतर्फी सञ्चालनमा छन् । १० ओटा सडक एकतर्फी रूपमा चलेका छन् ।

सडक विभागका अनुसार अवरुद्ध राजमार्गमा साँफेबगर–मार्तडी–कोल्टी (बाजुरा) को बार्जुगाड, बल्दे–अमकोट खण्ड र हडडे खोला, रिला, बलेना, डुम्रे–बेंशीशहर–चामे (मनाङ) को तिमाङ छहरा, सिद्धार्थ राजमार्गको पाल्पाको गौडेपुल, कालिमाटी, सिसुवा, तानसेन–रिडी–कोरला राजमार्गको पाल्ला जिल्लाको ढुंगाखानी खण्ड पूर्णरूपमा अवरुद्ध छ ।

यसैगरी पाँचखाल–मेलम्ची–टिम्बु सडकअन्तर्गत पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, खोड्पे –चैनपुरको द्रुम्रीखोला, कचाली खण्ड पनि अवरुद्ध छ । मध्यपहाडी ९पुष्पलाल० राजमार्गको बाग्लुङ–बोक्से खण्ड पनि अवरुद्ध भएको विभागले जानकारी दिएको छ । बझाङ, बाग्लुङ, सिन्धुपाल्चोक, पाल्पा, बाजुरा, मनाङ गरी ६ जिल्लाका विभिन्न सडकखण्ड पूर्ण अवरुद्ध छन् । यी सडक पुनः सञ्चालन हुन केही समय लाग्ने विभागको भनाइ छ । मनाङ तिमाङ–छहरा सडक यही असार २० गतेसम्म सुचारु हुने अनुमान विभागको छ ।

जेठ ३१ गते अवरुद्ध भएको सल्यानको शंखमूल सडक, महेन्द्र राजमार्गको गैंडाकोट –धुम्सी खण्ड र बुधवार अवरुद्ध भएको पृथ्वी राजमार्गको जोगीमारा सडक खण्ड पनि दुईतर्फी नै सञ्चालनमा आइसकेको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले अहिले मुलुकभरका विभिन्न स्थानमा २०५ ओटा हेभी इक्वीपमेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिए । तयारी अवस्थामा रहेका हेभी इक्वीपमेन्ट तथा जनशक्तिले सकेसम्म तुरुन्तै अवरुद्ध सडक सञ्चालनमा ल्याउन लागिपरेको उनको बताए ।

उपकरणहरू पुराना हुँदा नियमित रूपमा सञ्चालन गर्न सकिने अवस्था भने नरहेको उनको भनाइ छ । अहिले साबिकको सिजनभन्दा बढी पानी परेकाले तयारी अवस्थामा राखिएका उपकरणहरूले पनि धान्न नसक्ने अवस्था देखिएको उनले बताए । विभागका अनुसार महेन्द्र राजमार्गको दाउन्ने, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग, अरनिको राजमार्गको बाह्रबीसेलगायत विभिन्न जोखिमयुक्त सडकहरूमा हेभी इक्वीपमेन्टहरू तयारी अवस्थामा राखिएका छन् ।

‘मनसुन शुरू हुनासाथ नै भारी मात्रामा पानी परेकाले विभागअन्तर्गत रहेका इक्वीपमेन्टहरूले धान्न नसक्ने देखिएको छ,’ नेपालले भने, ‘विकल्पका रूपमा अहिले निजीक्षेत्रसँग रहेका त्यस्ता उपकरण प्रयोग गर्ने विषयमा गृहकार्य गर्न थालेका छौं ।’

निजीक्षेत्रबाट त्यस्ता उपकरण भाडामा लिनका लागि गृहकार्य शुरू गर्ने तयारी विभागले गरेको छ । पहिरोबाट अवरुद्ध सडकहरू सुचारु राख्न हेभी इक्वीपमेन्टमा लोडर, ब्याकहोल लोडर, एस्काभेटरजस्ता उपकरण प्रयोग गरिन्छ ।

यी उपकरण निजीक्षेत्रबाट भाडामा लिनुपूर्व बजेट सुनिश्चित गर्ने र सम्झौता पनि गर्नुपर्ने भएकाले व्यवस्थापनमा ढिलाइ हुन सक्ने देखिएको छ । सीधै भाडामा लिन नमिल्ने हुँदा उपकरणहरूको जोहो गर्न समय लाग्ने उनको भनाइ छ । विभागअन्तर्गत काठमाडौं, हेटौंडा, पोखरा, जनकपुर, इटहरी, गोदावरी, बुटवल, नेपालगञ्जमा हेभी इक्वीपमेन्ट डिभिजन कार्यालय छन् । यी कार्यालयमार्फत ती इक्वीपमेन्ट परिचालन गरिँदै आएको छ ।

जलविद्युत् आयोजनाहरूमा बाढीपहिरोका कारण ठूलो क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले अहिले केकति क्षति भयो भन्ने विषयमा यकिन नभए पनि विद्युत् उत्पादनमा भने असर गरेको जानकारी दिए । उनका अनुसार १४४ मेगावाट ९मेवा० को कालीगण्डकी ‘ए’बाट विद्युत् उत्पादन बन्द भएको छ । ७० मेवाको मध्यमर्स्याङदी, ६० मेवाको माथिल्लो त्रिशूली ३ ‘ए’, १० मेवाको सुनकोशी, १४ मेवाको मोदीलगायत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको उनले बताए । मर्स्याङ्दी आयोजना भने बुधवार बिहानदेखि सञ्चालनमा आएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न स्थानमा रहेका नदीबेसिन आयोजनाहरूमा ठूलो क्षति भइरहेको बताए । मेलम्ची क्षेत्र, लमजुङ दोर्दी कोरिडोर, कास्कीको मादीमा भएका दुईओटा आयोजनामा पनि क्षति भएको छ । उनले कतिपय आयोजनाको पावरहाउसमा बाढी पसेर काम रोकिएको र निर्माणाधीन सुपरदोर्दीमा भएका इक्वीपमेन्टलगायत उपकरण बगाएर करोडौंको क्षति पुगेको बताए ।

मोदी कोरिडोरमा भएका आयोजनाहरू पनि सबै बन्द रहेको इप्पानले जानकारी दिएको छ । कालिगण्डकी बेसिन र केही आयोजनाहरूमा भौतिक क्षति पुगेको छ । क्षतिको आकलन अहिले गरिनसकेको उनको भनाइ छ । ‘बाढीपहिरोका कारण निर्माणाधीन आयोजनाहरूभन्दा पनि निर्माण सम्पन्न भइसकेका आयोजनाहरूमा बाढीले हिलो ल्याउँदा टर्वाइन चलाउन निकै गाह्रो हुन्छ,’ आचार्यले भने, ‘यस्तो हुनेबित्तिकै बाध्य भएर विद्युत् उत्पादन बन्द गर्नुपर्ने हुन्छ ।’ मस्र्याङ्दी, दोर्दी, मादी, कालिगण्डकी, रूढी खोला, मेलम्चीमा रहेका नेशनल हाइड्रो लगायत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । कतिपय स्थानमा बाढीपहिरोका कारण ट्रान्समिशन लाइनका टावरहरू ढलेका छन् । यस्ता कारणले अहिले विद्युत् उत्पादन निकै कम भएको आचार्यले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार