विराटनगर तनावग्रस्त : ८१ राउन्ड अश्रुग्याँस प्रहार

'आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी'

विराटनगर । पदम लिम्बूको शव प्रदर्शनका क्रममा झडप हुँदा विराटनगर तनावग्रस्त बन्यो । त्यस क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको हो । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको उनले दाबी गरे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए ।

एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ । यस्तै आन्दोलनकारीको तर्फ घाइते भएका झापा शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ ।

एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा उनलाई बारको ब्लेडले काटेको थियो । यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन् । उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार