बाढीले मेलम्ची खानेपानीको ‘क्याम्प साइट’ बगायो, आठ कामदार सम्पर्कविहीन

मंगलबार साँझ ७ बजेबाट मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स नजिकैको क्याम्प साइट बगाएको छ । क्याम्प साइट बगाउँदा ६ विदेशीसहित आठ जना कामदार सम्पर्कविहीन भएको आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले बताएका छन् ।

उनका अनुसार बाढीमा परेर तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपाली कामदार बेपत्ता भएका छन् । बुधबार प्रवक्ता पन्तले विज्ञप्ती निकालेर सो कुराको जानकारी दिएका हुन् । “हिजो रातिदेखि सम्पर्कविहीन भएका आठ जना कामदारको खोजी भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खोजीमा लागेका छन्,” प्रवक्ता पन्तले भने ।

त्यही क्याप साइटमा रहेका ७६ जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको र उनीहरूलाई काठमाडौं र धुलिखेल ल्याइएको उनले जनाएका छन् । उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको प्रवक्ता पन्तले बताए ।

बाढीले आयोजनाका क्याम्प, उपकरण, निर्माण सामग्री, पहुँच सडक र पुल बगाएको छ । मुख्य बाँधमा भने ठूलो असर नपरेको प्रवक्ता पन्तले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार