बाँकेमा कोरोनाका लागि छुट्याईएका ७७ प्रतिशत बेड खाली

संक्रमित भेटिने क्रम घट्दै गएपछि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा छुट्टयाईएका ७७ प्रतिशत भन्दाबढी बेड खाली भएका छन् ।

जिल्ला कोभिड व्यस्थापन समिति बाँकेका अनुसार कोभिड उपचारका लागि विभिन्न अस्पतालमा छुट्याइएका ३६१ शय्यामध्ये २६४ शय्या खाली भएका हुन् । एक महिनाअघिसम्म कोभिड संक्रमितले बाँकेका अस्पतालहरू भरिभराउ थिए । कतिको बराण्डामा समेत राखेर उपचार गरिएको थियो भने केयौं बिरामीले अक्सिजन र बेड नपाएर ज्यान समेत गुमाउनु परेको थियो ।

बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार हालससम्म बाँके जिल्लाका नेपालगञ्ज र कोहलपुरस्थित अस्पतालमा ८२ जना मात्र कोरोनाका बिरामी भर्ना रहेका छन् । गत वैशाख २५ गतेपछि संक्रमित बिरामीको संख्या क्रमशः घट्न थालेको हो । दुइ सय बेड छुट्याएको भेरी अस्पतालमा हाल ६५ जना बिरामी मात्र उपचाररत रहेका छन् । जसमध्ये १८ जना सिकिस्त छन् ।

यस्तै १३० बेड छुट्याएको मेडिकल कलेजमा हाल १६ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये १४ जना सिकिस्त छन । त्यस्तै, शल्यक्रिया गर्नुपर्ने अवस्थाका संक्रमितका लागि १६ बेड छुट्याएको वेष्टर्न हस्पिटलमा एक जना मात्र बिरामी भर्ना रहेका छन् ।

यस्तै युनाइटेड अस्पतामा बिरामी नभएर त्यहाँ छुट्याएका सबै १५ बेड खाली रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार