मेलम्चीको बाढीले मोटरेवल र झोलुङ्गे पुलहरू बगाएपछि सर्वसाधारणको बिचल्ली (भिडियो)

मेलम्ची खोलामा एक्कासी आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पर्ने नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण क्षति भएका सडक खुलाई घाइते र बीचबाटोमा अलपत्र सर्वसाधारणलाई गन्तव्यमा पठाउनका लागि प्रयास भइरहेको छ । बाढीका कारण सो क्षेत्रमा मोटरेवल पुल र झोलुङ्गे पुलहरू बगाएको हेलम्बु गाँउपालीकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

बाढीपछि सडक यातायातलाई सुचारु गर्न सके सर्वसाधारणलाई राहतका साथै अन्य व्यवस्था गर्न सहज हुने उनको भनाई छ । बाढीपछिको अवस्था बुझ्न मेलम्ची पुगेका काँग्रेस नेता मोहन बस्नेतको टोलीसँग उनले एक्कासी आएको बाढीबाट क्षतिको पूर्ण रूपमा विवरण आएपछि सबै व्यवस्था स्थानीय तहले गर्ने बताए । अहिले भने तत्काल सडक खुलाउनका लागि नै सरकारले ध्यान दिनुपर्ने उनले जिकिर गरेका छन् ।

सो क्रममा काँग्रेस नेता बस्नेतले सर्वसाधारणलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्नुपर्ने र अन्य क्षति भएका पूर्वाधार निर्माणका लागी आफूहरू जुट्ने बताए । प्राकृतिक प्रकोपबाट भएको क्षतिबाट समस्यामा परेको जनतालाई छिटो भन्दा छिटो राहत उद्धारका काम गर्ने उनको भनाई छ ।

स्थानीयहरूले रातीको बाढीबाट धेरै बासिन्दा हराइरहेको बताए । उनीहरुले खोलाको बहाव कहिले घट्ने र कहिले बढ्ने गर्दा त्रास बढेको बताएका छन् । राती खोलाको बहाव घटेपछि सामान निकाल्न खोला छेउका स्थानमा पुग्दा पुन बहाव बढेको र झन् ठूलो क्षति भएको उनीहरुले बताए ।

बाढीपछि सो क्षेत्रमा सुरक्षाकर्मी लगायत स्थानीय उद्धारमा खटिएका थिए । सम्भावित अन्य दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार