मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत

तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ स्वीकृत गरेको छ ।

बुधबार गृह मन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक व्यूरो गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८, गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्वीकृत गरेको छ ।

बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ । गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो ।

यस्तै नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ । बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उनले बताए ।

 

Loading...