दिल्ली जानुअघि नेता खनालले पोखरेललाई भने- ‘‘पार्टी मिलाउनुस् कमरेड…’’

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘‘पार्टी मिलाउनुस् कमरेड…’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । जवाफमा महासचिव पोखरेलले भने, ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौँ ।’

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । नेता खनाल केहि समयअघि कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार