पर्यटन सुधारको वर्ष २०७९ : केके भए उपलब्धी ?

काठमाडौँ । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताए । “पर्यटनका हिसावले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो”, उनले भने, “हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।”

निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशित ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उहाँको भनाइ छ ।

वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ ।

होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह समग्रमा वर्ष २०७९ पर्यटनका लागि उत्साहबद्र्धक रहेको बताउनुहुन्छ । यस वर्षलाई पर्यटन सुधारको वर्षको रुपमा आफूहरुले लिएको उनको भनाइ छ । “पछिल्लो पर्यटक आगमन र होटल बुकिङ हेर्दा निकै सकारात्मक छ, यसलाई अझ सुदृढ तुल्याउन ‘एयर कनेक्टिभिटी’ बढाउँदै र सडक यातायात स्तरोन्नति गर्नु आवश्यक छ”, उनले भने।

पर्वतारोहणका लागि पनि उत्साह देखिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यस वर्षको वसन्त ऋतुमा विभिन्न २१ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ५१२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट विभागले राजस्व वापत रु ३१ करोड ३ख सङ्कलन गरेको छ । जसमा सबैभन्दा बढी सगरमाथाका लागि एक सय ९७, लोत्से आरोहणका लागि ६० जना र अन्नपूर्ण आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् ९नाट्टा० का अध्यक्ष रमेश थापाले वर्ष २०७९ पर्यटनका लागि सुधारको वर्ष भएको र यसले पर्यटन क्षेत्रमा उत्साह जगाएको बताए । उनले भने, “पर्यटनका लागि सुधारोन्मुक पक्ष भयो, क्रमिक रुपमा विदेशी पर्यटक बढिरहेका छन् । कोभिड महामारीपछि रोकिएका विभिन्न देशका उडान पनि अहिले खुलेका छन्, । चीनले पनि पर्यटक आगमनमा सहज बनाएपछि चिनियाँ पर्यटक बढेका छन् यसले पर्यटन क्षेत्रमा सकारात्मक आशा जगाएको छ ।”

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले वर्ष २०७९ समग्रमा पर्यटनका लागि उत्साहवद्र्ध रहेको बताउँछन् । “समग्र रुपमा यो वर्ष पर्यटनका लागि आशावादी रह्यो । अब पर्यटन लगायत सबैक्षेत्र राम्रो हुनुपर्छ । पछिल्लो सुधारले पनि पर्यटन क्षेत्र बुम हुने संकेत गर्छ”, उनले भने ।

चिनियाँ पर्यटक बढे
महामारीले झण्डै तीन वर्ष ठप्प प्राय रहेको चीनबाट उल्लेख्य संख्यामा चिनियाँ नागरिक नेपाल आउन थालेका छन् । नेपालको पर्यटनका लागि उत्तरी छिमेकी मुलुक चीन पनि प्रमुख स्रोत बजार मानिन्छ । चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरेको छ भने चैत १ गतेदेखि चिनियाँ नागरिकलाई नेपाल घुम्नका लागि एजेन्सीहरुले नेपाल भ्रमणका प्याकेज बिक्री सुरु गरेका छन् । वर्षको अन्तिम दिन एक सय ८० जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका छन् ।

बोर्डको बिवरणमा सन् २०२३ को मार्च महिनामा दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल आएका छन् । त्यसैगरी फेब्रुअरीमा दुई हजार दुई सय ६६ र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटक भित्रिएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या एक लाख ६९ हजार पाँच सय ४३ पुगेको थियो ।

नेपाल–चीन हवाई उडान पनि खुलिसकेकाले अझै चिनियाँ नागरिक बढ्ने अनुमान गरिएको छ । अहिले चीनका विभिन्न तीन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन् भने नेपालबाट हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ ।

दर्जन बढी तारे होटल पाइपलाइनमा
उद्योग विभागका अनुसार गत वैशाख १ देखि चैतसम्म विभिन्न ५६ वटा होटल तथा रेष्टुराँ स्थापनाक लागि करिब रु २४ अर्ब लगानीको प्रतिबद्धता आएको छ । जसमा चार हजार २२१ जनाले रोजगार पाउने उल्लेख छ । विभागका अनुसार यस वर्ष होटल तथा रेष्टुराँ क्षेत्रमा रु नौ अर्ब ४१ करोड बराबरको विभिन्न देशबाट लगानीको प्रतिबद्धता आएको छ ।

हानका उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा पाँचतारेदेखि पर्यटकस्तरका गरी कूल १० हजार होटल छन् । अबको डेढ वर्षभित्र थप १२ भन्दा बढी पाँचतारे होटल थपिदैछन् । हानमा आवद्ध मात्रै चार हजार हाराहारी होटल छन् । हाल नेपालमा सञ्चालित होटलसँग वार्षिक २५ लाख पर्यटक धान्ने क्षमता छ ।

हवाई पूर्वाधारमा फड्को
हवाई पूर्वाधारका हिसावले पनि वर्ष २०७९ उपलब्धीमूलक वर्ष बन्यो । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गते उद्घाटन गरिएको थियो भने पुस १७ गते उद्घाटन भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

यद्यपि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने भैरहवा विमानस्थलले पनि राम्रो विजनेश पाउन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अहिले तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । आन्तरिक विमानस्थल स्तरोन्नति भएका छन् । तराई क्षेत्रका हब विमानस्थलमा रात्रीकालीन उडान हुन्छ । आन्तरिक विमानस्थलको उडान समयावधि बढाएर दैनिक १८ घण्टा बनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छन् ।

हवाई सुरक्षा सुदृढिकरणमा प्राधिकरणको सक्रियता
वर्षको सुरुआतमा अर्थात् जेठ १५ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना र गत माघ १ मा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षामा चुनौती थपेको छ । हालै चैत २६ मा धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको थियो भने श्री एयरलाइन्स एयरलाइन्समा प्राविधिक समस्या देखिएका लगायतका घटनाले हवाई सुरक्षा थप सुदृढीकरण गर्नुपर्ने देखिएको छ ।

नियामक प्राधिकरणले पनि मुलुकको हवाई क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन सक्रियता देखाएको छ । नेपालमा सञ्चालिन आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सेवालाई सुरक्षित र भरपर्दो तुल्याउन प्राधिकरणले विभिन्न तवरले सुधारमा चासो दिएको हो ।

उडान मापदण्ड पालना नगर्ने र उडानमा लापर्बाही गर्ने विमानचालकलाई कारबाही गर्नुका साथै वायुसेवा कम्पनीको वित्तीय र व्यवस्थापकीय क्षमताको अध्ययन गरी आवश्यक निर्देशन दिएको छ । हवाई सुरक्षा मापदण्ड पालना र सेवाको गुणस्तर अभिवृद्धिका लागि प्राधिकरणले निरीक्षण र अनुसन्धान गरी कानूनी दायरामा ल्याएको छ । पछिल्ला महिनामा मात्रै दर्जनबढी हवाई कम्पनीको सेवा र उडान सञ्चालनबारे निरीक्षण र आवश्यक कारबाही गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार