रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलको विजयी सुरुवात

साविक विजेता पोर्चुगलले युरो कपमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पोर्चुगलले घरेलु टिम हंगेरीलाई ३-० गोलले पराजित गरेको हो ।

हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे ।

पहिलो हाफमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पहिलो गोल गरेको थियो । राफा सिल्भाको पासमा राफेल गुरेरोले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार हंगेरीका डिफेन्डर विली ओर्बानलाई ठोकिएर गोलमा परिणत भएको थियो ।

खेलको ८७ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे । हंगेरीका ओर्बानले राफा सिल्भालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । प्राप्त अवसरमा रोनाल्डो चुकेनन् ।

रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलमा रोनाल्डोले तीन वटा रेकर्ड बनाए । उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने भने लगातार पाँच युरोमा गोल गर्ने पहिलो खेलाडी बने । साथै उनी पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि बने ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार