निषेधाज्ञाले निसास्सिएको कपिलवस्तुको जनजीवन आजबाट सामान्य

करिब १ महिना १० दिनको निषेधाज्ञा निसास्सिएको कपिलवस्तुको जनजीवन आजबाट सामान्य बन्दै छ । असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिए पनि शिक्षण संस्था र सार्वजनिक यातायातबाहेक अरू क्षेत्र आजबाट खुल्ने भएपछि जिल्लाको जनजीवन सामान्य बनेको हो ।चौथो पटक थप भएको निषेधाज्ञाको समयावधि गए राति १२ बजे सकिएको छ ।

जिल्ला कोरोना नियन्त्रण समन्वय समिति डिसीसीएमसीको आइतबार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेसँगै बिहानैबाट अरुदिनभन्दा आज बढी चहलपहल देखिएको छ । जिल्लामा पानी परिरहे पनि बिहानैबाट निजी सवारी हिजोको तुलनामा धेरै चलेका छन् ।

बिहानैदेखि सडकमा निजी सवारी साधन, मोटरसाइकल, कार, अटो रिक्सा निर्बाध रूपमा चलेको देखिन्छ । यसै गरी बैङ्क तथा वित्तीय संस्था पनि आजबाट पूर्णरुपमा खुल्ने छन् । यता पसलहरू र व्यापार व्यवसाय भने खुले पनि प्रशासनले तोकेको समयमा मात्र संचालन पर्ने छ । पसलको लागि प्रशासनले बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म समय निर्धारण गरेको छ ।

तोकिएको समयबाहेकको समयमा खुल्ने पसल र व्यवसायीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । प्रशासनले भीडभाड हुन ठाउँलाई भने निषेध गरेको छ । ५ जनाभन्दा बढी भीड हुन नपाइने, जन्ती बसमा १५ जनाभन्दा बढी राख्न नहुने बताएको छ । आजबाट मालपोत लगायतका सरकारी कार्यालय पनि खुल्ने छन् ।

आगामी असार ८ गतेदेखि भने सवारीमा जोर बिजोर प्रणाली लागु गरी संचालन गरिने प्रशासनले जनाएको छ । शिक्षण संस्थाको हकमा अहिले केही नसोचिएको र केन्द्रको निर्णय अनुसार अगाडी बढ्ने बताइएको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेसँगै निषेधाज्ञालाई धेरै मात्रामा खुकुलो बनाएको हो । तर लापरबाही गरेको खण्डमा फेरि कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गर्ने प्रशासनले सबैमा अनुरोध गरेको छ ।

मास्क नलगाई हिँड्ने, होटेल र रेस्टुरेन्टमा बढी जम्मा भएर विभिन्न गोष्ठी सेमिनार गर्ने लगायतका कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ । कोरोनाको दोस्रो लहरको सङ्क्रमण बढेसँगै जिल्लामा गत जेठ २१ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार