सुन्दरबजार नगरपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकाले नगरभित्र रहेका विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ। आयआर्जनका स्रोत नभएका उपचारमा कठीनाइ परिरहेका नागरिकलाई उपचारमा सघाउने र प्रभावकारी रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले नगरक्षेत्रका विपन्न परिवारका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने निर्णय गरिएको नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन्।

नगर प्रमुख कोइरालाका अनुसार उपचारमा कठीनाइ परेर आर्थिक सहायताका लागि नगरपालिकामा धाउनेको संख्या बढ्दो बढेको अवस्थामा उनीहरुलाई उपचारका लागि पाँच-दश हजार रुपैयाँ दिनुको सट्टा बीमा रकम नगरपालिका आफैँले व्यहोरेर उनीहरुलाई स्वास्थ्य सेवा लिन सहज बनाउने हेतुका साथ नगर कार्यपालिका बैठकमा छलफल र बहसपछि यस्तो निर्णय गरेको हो।

नगर क्षेत्रका नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत परिवारमा रहेका पाँचजनाको स्वास्थ्य बीमा वापतको रकम ३ हजार ५०० नगरपालिका आफैँले तिरिदिनेछ। स्वास्थ्य बीमा पश्चात् प्रति घरधुरीका पाँच जनासम्म सदस्यले वर्षमा १ लाखसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन्।

यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको छ। नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने भएपछि यसै आर्थिक वर्षमा स्वास्थ्य बीमाको लागि निवेदन दिनेको संख्या बढेको छ। यसलाई मध्यनजर गरेर सो रकममा अझै थप गरिने नगर प्रमुख कोइरालाको भनाइ छ। आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाको लागि थप रकमको व्यवस्था गरिनेछ।

यसका लागि अहिले आवेदन संकलन भइरहेको छ। प्राप्त आवेदनलाई छानबिन गरी अति विपन्न व्यक्तिहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य बीमा वापतको रकम नगरपालिका आफैँले बेहोर्ने नगरप्रमुख कोइरालाले बताए। आफूले नगर प्रमुख भए लगत्तै स्वास्थ्यको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका नगर प्रमुख कोइरालाले यस किसिमको कार्यक्रमले नगरपालिका भित्रका विपन्न परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार नगरपालिकामा अति गरिब घरधुरी संख्या २२९, मध्यम गरिब २६३ र सामान्य गरिब घरधुरी संख्या १ सय ७२ रहेका छन्। तिनीहरु मध्ये गरिब परिवारलाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए। आवश्यकताअनुसार यस रकम बढाउन सकिने र कार्यक्रम प्रभावकारी भएमा आगामी वर्षहरुमा यस कार्यक्रमको बजेटलाई झैँ बढाइने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार