छैठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
कैलालीको धनगढीस्थित क्षेत्रीय रङ्गशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउन विक्रम लामा र अनिल महर्जनले गोल गरे ।
खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किक मार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे ।
फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए । उनले १० हजार पुरस्कार पाए । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पाएको छ ।
विधागत तर्फको पुरस्कारमा समेत थ्री स्टारको वर्चस्व रह्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान विक्रम लामा बने । उनले नगद एक लाख रुपैयाँ पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृष्ट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे ।
यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधिक गोलकर्ता मनाङका सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
सुदूरपश्चिम–११ का दीपेन्द्र मलासी उदयमान खेलाडी चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।