कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ

काठमाडौँ । प्रतिबन्धित लागुऔषध कोकिन कारोबारमा संलग्न भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट कोकिन तस्करीमा संलग्न दुई जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत असाम घर भएकी ४६ वर्षीय भनल्वामी र २९ वर्षीय इस्थर ललिम्पुई रहेका छन् । भनल्वामी दिल्ली हुँदै अफ्रिकाको गिनी पुगेर लागुऔषध नेपाल ल्याएको खुलेको छ । विभिन्न देश घुमेपछि उनले दुबई हुँदै कोकिन ल्याएको अनुसन्धानका क्रममा खुलेको छ।

यसैगरी इस्थर ललिम्पुईले पश्चिम अफ्रिकाको बेनिमा भन्ने देशबाट कोकिन ल्याएको खुलेको छ । उनीहरु क्रमशः चैत १३ र १४ गते ठमेलबाट पक्राउ परेका हुन् ।

उनीहरु दुई जनाको साथबाट ७ किलो ८८७ ग्राम कोकिन बरामद भएको छ ।विमानस्थलको कडा सुरक्षा जाँच छल्दै उनीहरु ठमेल पुगेको देखिएको छ ।

उनीहरुले विदेशबाट कोकिन ल्याउने र स्थलमार्ग हुँदै भारत लैजाने उद्देश्यले तस्करी गरेको खुलेको प्रहरीको भनाइ छ । नेपाललाई ट्रान्जिट बनाएर तस्करीको गिरोहले यस्ता कार्य गर्दै आएको सार्वजनिक हुँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार