वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि टेलिमेडिसिन सेवा

सरकारले बुधवाबार (आज)देखि वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । पूर्णतया निःशुल्क रहेको यो सेवा आज बिहान १० बजेदेखि सुरु हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।

विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनुपरेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउने व्यवस्था गरिने पनि वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिए । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको उनले जानकारी दिए ।

बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ । सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको मृत्यु हुने गरेको छ ।

पछिल्लो समय साउदी अरब, खाडी तथा मलेसियामा अलपत्र पर्ने नेपाली श्रमिकको सङ्ख्या बढ्दै गएपछि सरकारले उद्धार प्रक्रियालाई छिटोछरितो बनाउन खोजेको छ । सरकारले उद्धारलाई प्रभावकारी बनाउन विभिन्न देशमा रहेका दूतावासहरूसँग थप सुझावसमेत मागेको छ । एक वर्षयता साउदी अरबमा रहेका धेरै श्रमिकले उद्धारको व्यवस्था मिलाउन निवेदन दिँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार