गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया

काठमाडौँ । भारतको दिल्ली एम्सका डाक्टरहरूले आमाको गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया सफलतापूर्वक गरेका छन् ।डाक्टरहरूले बच्चाको मुटुको बन्द भल्भ खोल्न बेलुन डाइलेशन शल्यक्रिया गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।  डाक्टरहरूले यो शल्यक्रिया मात्र ९० सेकेन्डमा पूरा गरेका थिए । शल्यक्रियापछि आमा र बच्चा दुवै सकुशल रहेको बताइएको छ ।

एम्सको कार्डियोथोरासिक विज्ञान केन्द्रमा शल्यक्रिया गरिएको थियो । एम्सका डाक्टरहरूको टोलीले यो प्रक्रिया पूरा गरेको हो । अहिले टोलीले बच्चाको मुटुको चेम्बरको वृद्धिको अनुगमन गरिरहेको छ ।

२८ वर्षीया महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । ती महिलाले यसअघि तीनवटा गर्भ गुमाएकी थिइन् । डाक्टरले महिलालाई बच्चाको मुटुको अवस्थाबारे बताए र शल्यक्रिया गर्न सल्लाह दिए, जसमा महिला र उनका श्रीमान सहमत भए।

उक्त टोलीले बच्चा आमाको पेटमा हुँदा पनि केही गम्भीर प्रकारका मुटु रोग पत्ता लाग्न सक्ने बताएको छ । यदि यी कुराहरू गर्भमा नै सच्याइयो भने, जन्मपछि बच्चाको स्वास्थ्य राम्रो हुने र बच्चाको सामान्य विकास हुने सम्भावना बढ्छ ।

शल्यक्रिया गर्ने चिकित्सकले बच्चाको शल्यक्रियाको नाम ुबेलुन डाइलेसनु रहेको बताए । यो प्रक्रिया अल्ट्रासाउन्ड निर्देशन अन्तर्गत गरिन्छ । यसका लागि आमाको पेटबाट बच्चाको मुटुमा सुई हाल्ने, त्यसपछि बेलुन क्याथेटरको मद्दतले बन्द भल्भ खोल्ने गरिन्छ, ताकि रगतको प्रवाह राम्रो होस् । शल्यक्रिया पछि बच्चाको मुटुको विकास राम्रो हुने र जन्ममा हृदय रोगको जोखिम कम हुने शल्यक्रियामा संलग्न डाक्टरहरुले बताएका छन् ।

कार्डियोथोरासिक विज्ञान केन्द्रका टोलीका वरिष्ठ चिकित्सकले यस्तो शल्यक्रिया गर्भमा रहेको बच्चाको जीवनका लागि खतरनाक हुनसक्ने भएकाले निकै सावधानीपूर्वक गर्नुपर्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार