‘नेपालमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्यधिक बल प्रयोग’

काठमाण्डौ – एम्नेस्टी इन्टरनेशनलले एसिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको बताएको छ । एम्नेस्टी इन्टरनेशनलले विश्वको मानव अधिकारको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हननका घटनामा कमी नआएको निष्कर्ष सार्वजनिक गरेको हो ।

आज मङ्गलवार विश्वभर एकसाथ निष्कर्ष सार्वजनिक भएको प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा रहेका भारत, बङ्गलादेश, इन्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलङ्का र थाइल्यान्डलगायतका देशहरूमा स्वतन्त्रता माग गर्नेहरूमाथि सरकारले स्वेच्छाचारी गिरफ्तार गर्ने, लामो समय हिरासतमा राख्ने काम निरन्तर गरिरहेको तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदनले नेपाललगायतका देशमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्यधिक बल गर्ने तथा घातक बल प्रयोग भएको बताएको छ ।  प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताए।

मङ्गलवार सार्वजनिक भएको प्रतिवेदनमा विकसित र ठूला भनिएका देशहरूले मानव अधिकारको विषयमा दोहोरो मापदण्ड देखाएको सार्वजनिक गरिएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक अस्मिता सापकोटाले मानव अधिकारका सवालमा विभिन्न देशहरूले विषयअनुसार फरक–फरक धारणा बनाएको र त्यसैअनुसार व्यवहार गरेर मानव अधिकार संरक्षणमा दोहोरो मापदण्ड बनाएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार