बैंकहरुले ब्याजदरमै २० प्रतिशत भन्दा बढि नाफा खाए : अन्जन श्रेष्ठ

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामा आयोजित “लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक” कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए ।

सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए । उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग गरेका छन् ।

“उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाईने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानून लागु गरेर दुख दिईन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्।” वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले भने ।

निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भुमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको बताए । आफूले लुम्बिनी प्रदेशमा लगानी बिस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब आफूले नेतृत्व गर्ने पालो आएको बताए । “म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ। यसले मलाई परिपक्क बनाएको छ र सोहि अनुभवको आधारमा आफूले नेतृत्वमा दाबी गरेको हुँ,” श्रेष्ठले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले देशको पूँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशिल बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए । “पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशत भन्दा धेरै ५ र सरकारको योगदान न्यून मात्र छ। त्यसले देशको पूँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ,” उनले भने ।

सरकारले अर्थतन्त्रलाई सुदृढ गर्नका लागि आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारण खर्चमा मात्र हेर्न नहुने बताए । “अहिले तीनै तहका सरकारहरुसँग ३५१ अर्ब रुपैयाँ रहेको छ यो रकमबाट सरकारले खर्च गर्न सक्दछ। र अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सक्दछ,” उनले भने ।

अर्थतन्त्रलाई कसले गति दिने भन्ने महत्वपूर्ण विषय भएको भन्दै पूर्व कार्यकारी निर्देशक थापाले सरकारले नै पहल गर्नुपर्ने बताए । उनले देशभित्र उद्योग व्यवसाय दर्ता र संचालनको लागि सहज व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

यसका साथै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसिकेको वा सुधार गर्न नचाहेको बताएका छन् । उनले विश्वमा ठूला आर्थिक मन्दिबाट सबै देशहरुले सिकेपनि हामीले कहिलेपनि सिक्न र सुधार गर्न नसकेको बताए ।

उनले यसको लागि संस्थागत अभ्यासमा सुधार गर्नुपर्ने र यथार्थवादको अन्त्य गर्नुपर्ने बताए। “विश्वका सबै देशहरुले आर्थिक मन्दी र चुनौतीबाट पाठ सिकेर नयाँ नीति र व्यवस्था गर्ने गरेको भएपनि हामीले कहिले सिक्न चाहेनौं,” सांसद झाले भने, “हामीले के सिक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने निश्चित हुनुपर्दछ।”

उनले उद्योग व्यवसायलाई गाउँगाउँमा पुर्याउनुपर्ने भन्दै औद्योगिक क्षेत्रमा पनि संघियतालाई कार्यान्वयन गर्न अनुरोध गरे।

कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले निजी क्षेत्रको माग र समस्यालाई सम्बोधन गर्न र आन्दोलनको रुपमा अगाडि बढाउन पनि अन्जन श्रेष्ठको नेतृत्व आवश्यक भएको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार