धनगढी : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अहिले पनि देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका छन्।
आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अहिले लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध केही पार्टी र मान्छेहरू सलबलाएको भन्दै देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका हुन्।
यस्तै उनले विगतका विभिन्न आन्दोलन, विद्रोह, जनआन्दोलन, थारू आन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नुपर्ने पनि बताए।
त्यसका लागि उनले अहिले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार संघीय कानुनको अभावले कार्यान्वयन हुन नसकेको र त्यो कार्यान्वयन गर्न सरकारले लाग्नुपर्ने जनाए।
संघीयताविरुद्ध आवज उठिरहेको वेला अब सरकारले आवश्यक कानुन बनाएर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने उनको दाबी छ। त्यस्तै उनले अहिले जसपा, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच समाजवादी मोर्चा बन्ने र बनाउनेबारे छलफल चलिरहेको बताए।
उनले भने, ‘एकताको विषयमा मूल गाठो कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन भन्ने नै हो। अहिले पनि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा बनाउने कुरामा तयारी भइरहेको छ।’
यस्तै अर्को सन्दर्भमा उनले टीकापुर घटनामा दोषी प्रमाणित भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीलाई रिहा गर्नुपर्ने र उनी केही महिनाभित्र रिहा हुने तथा सर्वोच्च अदालतले उनलाई रिहा गर्ने दाबी गरे।