मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्रीको प्रस्ताव : कांग्रेसलाई आठ र रास्वपालाई तीन

'माओवादीका मन्त्री रहेको मन्त्रालय हेरफेर गर्ने तयारी'

काठमाडौँ – गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको संख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन् ।

शनिबारसम्म जनमतबाहेक गठबन्धनका अन्य दलसँग परामर्श सकिएको र आइतबारसम्म सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको योजना छ ।

शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार गठबन्धनका दलहरुसँग छलफल गर्दै छन् ।  उनले गठबन्धन दलहरूसँग छुट्टाछुट्टै छलफल गरिएको र त्यसैका आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव तयार गर्ने बताएका छन् ।

प्रचण्ड निकट एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री रहेको पार्टी नेकपा माओवादीले पाँचवटा मन्त्रालयको जिम्मेवारी लिनेछ । कांग्रेसको दाबी ८ रहेकाले सकेसम्म ८ वटै मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ ।

भागबण्डाका लागि प्रचण्डले तयार गरेको प्रस्ताव

गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र सांसदमध्येबाट एकजनालाई मन्त्री बनाउने प्रस्ताव बनाएका छन् । मन्त्रालयको रोजाइका आधारमा अंकमा सामान्य हेरफेर हुनेछ । गठबन्धनमा सबै दलले बढी संख्या दाबी गरेका छन् ।

प्रधानमन्त्रीपछि मन्त्रालय विस्तारमा पहिलो रोजाइ कांग्रेसको हुनेछ । सबैको चिक्त बुझाएर शक्तिशाली मन्त्रालय बाँडफाँट गर्ने प्रधानमन्त्रीको योजना छ । प्रधानमन्त्रीले आफूले ल्याएको प्रस्ताव नै अन्तिम रूप दिने गरी गृहकार्य गरिरहेका छन् ।

माओवादी मन्त्री रहेको मन्त्रालयको हेरफेर गर्ने र कसलाई कुन मन्त्रालय दिने टुंगो लगाउने गरी शीर्ष तहमा छलफल भइरहेको छ । कांग्रेसले अर्थ मन्त्रालय र माओवादीले गृह मन्त्रालय लिने तथा मन्त्रालय हेरफेर गर्ने गरी छलफल भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार