अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी

नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो । जसमा अर्थसहित ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो ।

सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकपछी उपसभापति पूर्ण बहादुर खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका थिए ।

‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङसमेत कांग्रेस बैठकमा भएको थियो ।

कांग्रेसले उपसभापति खड्कासहितलाई सरकारमा पठाउने तयारीसमेत गरेको छ ।

बैठकमा रमेश लेखकले संसदीय गतिविधिको विषयमा ब्रिफ गरेका थिए । यस्तै बैठकमा वैशाख १० मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।

उमेदवारको विषयमा छलफल गर्न सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको र औपचारिक निर्णय भइनसकेको एक पदाधिकारीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार