आठ महिनामा दुई हजार दुई सय विद्युतीय गाडी भित्रिए

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को आठ महिनामा करिब २,२०० विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागको पछिल्लो तथ्यांकानुसार गएको साउनदेखि फागुनसम्म कार, जीप र भ्यान गरी दुई हजार १९८ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

यी गाडीको कुल मूल्य ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँ रहेको छ । यसबाट सरकारले एक अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा एक हजार ३५७ विद्युतीय गाडी नेपाल भित्रिएका थिए । यस्तै, आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा १०३ विद्युतीय गाडी नेपाल भित्रिएका थिए । पछिल्ला तीन वर्षको स्थिति तुलना गर्दा नेपालमा विद्युतीय गाडीको माग बढ्दै गएको देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार