राजतन्त्रको पक्षमा आन्दोलन गर्न राप्रपालाई पूर्वराजाको सुझाव

काठमाडौँ । राप्रपालाई शीर्ष नेताहरूसँगको भेटमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रको पक्षमा माहोल बनाउन सुझाव दिएका छन् । झापामा भएको भेटमा नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले सो पार्टीले एजेण्डा स्थापित गर्न पहलकदमी लिनुपर्ने सुझाएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणासहित अन्य केही राजावादी सहभागी उक्त भेटमा पूर्वराजाले अब चुप लागेर बस्न नहुनेमा जोड दिएका थिए । भेटको क्रममा देशको वर्तमान राजनीतिक परिस्थिति बिग्रँदै गएकाले अब पनि राजावादी शक्ति चुप लागेर बस्न नहुने धारणा पूर्वराजाले राखेका थिए । भेटका क्रममा पूर्वराजाले सुरुमा वर्तमान राजनीतिक परिस्थिति बिग्रेको भन्दै चिन्ता जाहेर गरेका थिए ।

देशमा भ्रष्टाचार बढेको, लोकतान्त्रिक मूल्य र मान्यता हराउँदै गएको, आर्थिक रूपमा देश भयानक सङ्कटतर्फ अघि बढेको धारणा पूर्वराजाको थियो । बेथितिबारे आक्रोशित मुद्रामा प्रस्तुत भएका पूर्वराजाले हिन्दुराष्ट्र पुनर्स्थापनालगायतका सवालमा दुर्गा प्रसाईँको नेतृत्वमा जारी आन्दोलनको बारेमा समेत आफ्नो धारणा राखेका थिए । प्रसाईंको आन्दोलनले मात्रै निकास दिन नसक्ने भन्दै उनले राप्रपासहित सबै मिलेर आन्दोलनमा होमिन सुझाव दिएको स्रोतको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार