क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइको तलब बृद्धि भएको छ । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ ।

प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए ।

गत माघ २३ गते देसाइलाई क्रिकेट संघले प्रमुख प्रशिक्षकमा नियुक्ति दिएको थियो । औपचारिक नियुक्ति पाउनुभन्दा केही दिनअघिबाटै देसाइले नेपाली टिम सम्हालेका थिए ।
देसाइको प्रशिक्षणका नेपालले घरेलु मैदानमा २ वटा र यूएईमा एउटा एक दिवसीय शृङ्खला खेलेको छ । घरेलु मैदानमा भएका दुवै श्रृङ्खला नेपालले क्लीन स्वीप गर्न सफल भयो । यसैगरी यूएईमा भएका ४ म्याच मध्ये तीनवटा नेपालले जितेको थियो ।

समग्रमा देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ । यही प्रदर्शनको बलमा नेपालले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर्समा स्थान पक्का गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार