तिब्बतीलाई सक्कली नागरिकता दिलाउने पाँच जना पक्राउ

'जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीमाथि अनुसन्धान हुने'

काठमाडौं – तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने गिरोहका नाइके कृष्णबहादुर कटुवालसहित पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। प्रहरीले ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

यो समूहले १० तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । लाइसेन्स र दर्ता विना नै लेखापढी गर्दै आएका उनले हिरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाद दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको प्रहरीको भनाइ छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा उपस्थित गराएर सनाखत गराउने गरेको प्रवक्ता राठौरले बताए । पक्राउ परेका न्यूल्केश श्रेष्ठलाई कटवालले मिङछुङ शेर्पा नामको नक्कली नागरिकता बनाइदिएका थिए । त्यसपछि प्रति पटक १० हजार रुपैयाँ दिएर विभिन्न व्यक्तिको नक्कली बाबुको रुपमा प्रशासन कार्यालयमा उपस्थित गराउने गरेका प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार