म्याग्दीमा भीषण असिना, बालीनालीमा क्षती

म्याग्दी : मंगलवार दिउँसो म्याग्दीका लेकाली क्षेत्रमा वर्षासँगै परेको भीषण असिनाले थन्काउने वेलाको बाली सखाप पारी दिएपछि किसान चिन्तित बनेका छन्।

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबाली समेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन्।

मंगलवार दिउँसो एक्कासी वर्षासँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको गौश्वार, वडा नं ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका खेतीबालीमा क्षति पुर्‍याएको किसानहरूले बताएका छन्।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको ज्यामरुककोटका किसान भीमबहादुर क्षेत्रीले बताए। मंगलवार दिउँसो हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ। गत शनिवार पनि भकिम्ली र चिनाखेतमा असिना परेको थियो।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवा लगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ। भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौला लगायतका तरकारी र बालीका विरुवामा समेत क्षति पुगेको चिनाखेतका कृषक श्याम पुनले बताए।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ। असिनाले गरेको क्षतिको विवरण संकलन भइरहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ।

गत असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए। अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको उनले जानकारी दिए।

जिल्लामा सिँचाइ सुविधा पुगेको झण्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषक भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ। वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसानहरू भने खुसी भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार