काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरु गरिरहेको आरोप लगाएका छन् । आइतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री दाहालले लगातार जनविरोधी र राष्ट्रविरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको बताए । उनले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लागेपनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताए ।
उनले भने, ‘क्रिकेट खेलमा दर्शकको रुपमा प्रचण्ड गएका थिए, तर त्यो बेला नारा लाग्यो भनेर भनियो । प्रचण्ड मुर्दावाद देश छोड् भन्ने नारा लाग्यो हामीलाई त त्यो सुन्न पनि लाज लाग्छ तर उनलाई केही लागेको छैन । उनले लगातार जनबिरोधी, राष्ट्रबिरोधी कामहरु गरिरहेका छन् । हामीले जनताका बीचमा लगेर अब यी सबैकुरालाई नंग्याउन जरुरी छ । यो भन्दा अघि यति धेरै अत्याचार, शोषण, महंगी, बेराजगारी भएको थिएन । तर अहिले गणतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भनेर संविधान लेखे तर समाजवादउन्मुख व्यवस्थाले सबैभन्दा बढी बेरोजगार बनाएको छ ।’
उनले देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको आरोप लगाए । उनले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताए । ‘माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर हामी सबै मिलेका छैनौँ। केही पनि मिलेको छैन । सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो’ उनले भने
उनले माओवादीहरु डराएर एकजुट भए भन्ने कुरा गलत रहेको बताए । उनले अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको स्पष्ट पारे ।