मन्त्रिपरिषद् विस्तारकाे तयारी : कांग्रेसमा मन्त्री बन्न दौडधुप, गृहमा समाजवादीको दाबी
'भागबण्डा मिलाउन सकस, रास्वपालाई पनि सरकारमा सहभागी गराउने कसरत'
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो सृंससद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पुर्णता दिने वारेमा छलफल गरेका छन ।
प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गते भित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरू गरेका छन् । ‘विश्वासको मत लिए पछि सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको छ,’ लगानी बोर्डको बैठक पछि प्रधानमन्त्री दाहालले भने, ‘ विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता पाउनेछ,’ दाहालले भने । उनका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रीमण्डल विस्तारका लागि भागबन्डा गर्ने कार्य विश्वासको मत लिए पछि अघि बढनेछ ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भए पछि सरकारी काम कारबाही सहज ढंगले अघि बढन सकेको छैन्।
तीनवटा पार्टी सरकारवाट बाहिरिए पछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण , युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।
यसैगरी, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन ।
कांग्रेसमा मन्त्री बन्न दौडधुप
कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। नयाँ गठबन्धनको सरकारमा कांग्रेस सहभागी हुने भएसँगै सांसदहरू मन्त्री बन्न सक्रिय भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्।
पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दाबी छ। सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी हुने छैनन्। दिलेन्द्रप्रसाद बडु पनि सरकारमा सहभागी हुने सम्भावना रहेको देउवा निकट स्रोत बताउँछ ।
गृहमा एकीकृत समाजवादीको दाबी
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि गृहमन्त्रालयमा दाबी गरेको छ । एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा जाँदा आफ्नो पार्टीको पहिलो प्राथमिकता गृह मन्त्रालय रहने बताएका छन् ।
उपराष्ट्रपतिको निर्वाचनको क्रममा संसद भवनमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद्विस्तारको काम अघि बढ्ने बताए । विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिन धेरै समय नलाग्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन । तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’
उनले पार्टीबाट गृहमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने आफू नै जाने भन्ने चर्चा स्वाभाविक भएको बताए ।
रास्वपालाई सरकारमा सहभागी गराउने कसरत
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी गराउनेबारे सत्तारुढ गठबन्धनले छलफल सुरु गरेका छन्।राष्ट्रपति निर्वाचन, सरकारको समीक्षासँगै रास्वपालाई पुनः सरकारमा सहभागी गराउनेबारे सत्ता गठबन्धन दलबीच छलफल भएको हो । यस विषयमा गठबन्धनका नेताहरुले रास्वपासँग पनि छलफल गर्ने बताएका छन् ।
सभापति रवि लामिछाने सांसद पदका लागि अयोग्य भएको सर्वोच्चको फैसला माघ १३ मा आएको थियो । त्यसपछि पुनः नागरिकता लिएका सभापति लामिछाने सरकारमा सहभागी हुन चाहेका थिए । लामिछाने गैरसांसदका रूपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री हुन खोजेका थिए । तर प्रधानमन्त्रीले गृहमन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरीएको थियो ।