पाँच दिनमा हालान्डको दोस्रो ह्याट्रिक

म्यानचेस्टर । अर्लिङ हालान्डले पाँच दिनमा दोस्रो ह्याट्रिक गर्दा म्यानचेस्टर सिटीले बर्नलीमाथि गोल वर्षा गरेको छ । शनिबार राति एतिहाद स्टेडियमा भएको खेलमा सिटी ६–० गोलले विजयी हुँदै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

गत हप्ता च्याम्पियन्स लिगमा आरबी लेइपजिगविरुद्ध पाँच गोल गरेका हालान्डले शनिबार तीन गोल थप्दै यो सिजन आफ्नो गोल सङ्ख्या ४२ पुर्‍याएका छन् । प्रिमियर लिगमा रुड भान निस्टलरोय र मोहमद शालाहले बनाएको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमानभन्दा उनी अब मात्र दुई गोलले पछि छन् ।

हालान्डसँगै जुलियन आल्भारेजले दुई तथा कोल पाल्मरले एक गोल थप्दै टोलीलाई सानदार जीत दिलाए । उता सिटीका पूर्वकप्तान भिनसेन्ट कोम्पानीको टोली च्याम्पियन्सीपमा १३ अंकले अघि रहे पनि शनिबारको खेलमा निरीह देखिएको थियो ।

पेप ग्वार्डिओलको नेतृत्वमा सिटी सात सिजनमध्ये ६ वटामा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यद्यपि टोलीले यो प्रतियोगिता २ पटकमात्र जितेको छ । अब एफए कपको ड्र आइतबार हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार