उपराष्ट्रपति निर्वाचन : मतगणना सुरु

काठमाडौं : मुलुकको उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएको छ। संघीय संसद भवन नयाँबानेश्वरमा बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो।​ संघीय संसद भवन नयाँ बानेश्वरमा कडा सुरक्षाबीच मतगणना सुरु भएको हो। ५ बजेसम्म नतिजा सार्वजनिक गरिसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार ८ सय ८२ मतदाता रहेकामा ८ सय २९ मत खसेको छ। उनका अनुसार संघीय संसदतर्फ ३ सय ३२ मतदातामध्ये ३ सय ११ जनाले मतदान गरेका छन्। राप्रपाका १४ सांसद र नेमकिपाका एक गरी १५ सांसदले मतदान गरेनन्।

रामचन्द्र पौडेल, शहनाज रहमान, चन्द्र भण्डारी, टेकबहादुर गुरुङ, लक्ष्मी महतो कोइरी र वर्षमान पुनको मत खसेन । पौडेल राष्ट्रपति निर्वाचित भएका कारण मत हाल्न पाएनन्।

रहमानको मृत्यु भइसकेको छ। गुरुङ निलम्बित छन् भने कोइरी फरार सूचीमा छन्। पुन र भण्डारी विदेशमा उपचाररत छन्। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो।

सम्बन्धित समाचार