काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू विक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन्। उनले देशमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको पनि स्पष्ट पारे।
सभामुख घिमिरेले भने, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्थ्यो, त्यो छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ। अझ भन्ने हो भने पत्रकारहरू विक्रीमा छन्। सभामुखले संघ विक्रीमा छ भन्यो भन्लान् भनेर मैले यसलाई रोकिरहनु पर्दैन। तपाईंहरूले त्यो भन्नु पनि हुँदैन।’
सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे।
उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए। सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चारक्षेत्रको समस्या झनै बढेर गएको बताए।
उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।
उनले भने, ‘बिग हाउसहरूले प्रभावित पारेको छ। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ।’