उपराष्ट्रपति निर्वाचन : सकियो मतदान, ८२९ सांसद सहभागी

काठमाडौं – मुलुकको उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएको छ। संघीय संसद भवन नयाँबानेश्वरमा विहान १० बजे सुरु भएको मतदान अहिले ३ बजे सकिएको हो । ८ सय ८२ मतदाता रहेकामा ८ सय २९ मत खसेको निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए।

उनका अनुसार संघीय संसदतर्फ ३ सय ३२ मतदातामध्ये ३ सय ११ जनाले मतदान गरेका छन्। राप्रपाका १४ सांसद र नेमकिपाका एक गरी १५ सांसदले मतदान गरेनन्।

रामचन्द्र पौडेल, शहनाज रहमान, चन्द्र भण्डारी, टेकबहादुर गुरुङ, लक्ष्मी महतो कोइरी र वर्षमान पुनको मत खसेन । पौडेल राष्ट्रपति निर्वाचित भएका कारण मत हाल्न पाएनन्। रहमानको मृत्यु भइसकेको छ। गुरुङ निलम्बित छन् भने कोइरी फरार सूचीमा छन्। पुन र भण्डारी विदेशमा उपचाररत छन्।

प्रदेशतर्फ ५ सय ५० प्रदेशसभा सदस्यमध्ये ५ सय १८ जनाले मतदान गरेका छन्। अब केहीबेरमै मतगणना सुरु गरिने र ५ बजेसम्म नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार