उपराष्ट्रपति पदका लागि मतदान जारी

आज साँझ ६ बजेसम्म परिणाम आइसक्ने

काठमाडौँ – उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरु भएको हो । मतदान प्रक्रिया बिहान १० बजेबाट शुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न मतदान हुन लागेको हो । उपराष्ट्रपति पदका लागि तीनजना प्रतिस्पर्धामा छन् ।

उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । उनीहरु पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन् । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

सम्बन्धित समाचार