बाराको जङ्गलभित्रबाट सालको काठसहित भ्यान नियन्त्रणमा

बारा । डिभिजन वन कार्यालय बाराको गस्ती टोलीले बुधवार राति सालको काठसहित भ्यान नियन्त्रणमा लिएको छ ।पूर्व –पश्चिम राजमार्गको पथलैया स्थित ५ किलोमिटर सडक खण्डको वन क्षेत्र भित्रबाट सालको काठ लोड भएको अवस्थामा भ्यान नियन्त्रणमा लिएको हो । सूचनाका आधारमा खटिएको वन गस्ती टोलीले गाडी नियन्त्रणमा लिए पनि तस्करहरू भने भाग्न सफल भएका थिए । १० थान गोलिया र बाग्मती प्रदेशको १२७ च ०८४२ नं को भ्यान मात्रै वन गस्ती टोलीले नियन्त्रण लिन सकेको वन कार्यालयले जनाएको छ ।

तस्करहरू ८/१० जनाको समूहमा आएको डिभिजन वन अधिकृत विनोद सिंहले जनाएका छन् । भाग्ने क्रममा उनीहरूबाट एक थान ४ फिट, दुई थान ६ फिट र सात थान ७ फिट लम्बाइका १० वटा गोलिया करिब ११० क्यु फिट बराबरको काठ नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको सो गोलिया अहिलेको बजार मूल्यमा ५ लाख भन्दा बढीको रहेको वन कार्यालयले जनाएको छ । तस्करीमा संलग्न व्यक्ती र सो भ्यान कसको हो भन्ने विषयमा खोजी तीव्र बनाइएको प्रहरीले जानकारी दिएको छ । यसरी वन क्षेत्रभित्रै भ्यान नै प्रयोग गरेर तस्करहरूले जङ्गल मास्न थालेपछि संरक्षणमा भने ठुलो चुनौती थपिएको वन अधिकृत सिंहले जनाएका छन् ।

सम्बन्धित समाचार