विपक्षमा मतदान गर्न लुम्बिनीमा जसपाको ह्वीप

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

जसपाले नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदलाई पत्र पठाउँदै विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले २५ जेठमा प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त नीति तथा कार्यक्रम आज पारित गरिँदैछ ।

जसपाका ६ प्रदेशसभा सदस्यमध्ये संसदीय दलका नेता सहषराम यादव र प्रमुख सचेतक ढेंगाबाहेकका ४ जना पार्टी निर्णय विपरित सरकारमा गएको भन्दै पार्टीले कारबाही गरेर पदमुक्त भएका थिए । तर सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद थमौती भएको छ ।

जसपासहित सबै विपक्षी दलहरुले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेशसभा बैठक बहिष्कार गर्दै आएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार