म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियु चुनाव स्थगित

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगन गरिएको छ।

क्याम्पस प्रशासनले बुधबार  सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ। स्ववियु निर्वाचनलाई लिएर नेकपानिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन कार्यालयमा सोमबार तालाबन्दी गरेको थियो।

निर्वाचनको विषयलाई विद्यार्थी सङ्घ सङ्गठनबीच विवाद भएपछि क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरिएको सूचना जारी गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए।

तालाबन्दीका विषयमा लिएर मङ्गलबार क्याम्पस सञ्चालक समिति, प्रशासन, निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला सङ्घ सङ्गठनका प्रतिनिधिहरुबीच भएको बैठकको निर्णयबमोजिम बुधबार बिहान ११ बजेसम्म विद्यार्थी सङ्घ सङ्गठनलाई सहमति गर्ने समयावधि तोकिएकोमा उक्त समयभित्र सहमति कायम भएको सूचना नआएकाले निर्वाचनका कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए।

सम्बन्धित समाचार