उपत्यकाका सीडीओको बैठक बस्दै, निषेधाज्ञा सातदेखि १० दिन थप हुने

आइतबार दिउँसो ३ बजेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।

जेठ मसान्तसम्मका लागि तोकिएको निषेध गर्ने आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न आइतबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे निर्णय गर्ने काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले बताए । जारी निषेधाज्ञा सात देखि १० दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको प्रजिअ पराजुलीले बताए ।

जारी निषेधाज्ञा सोमबार रातिबाट सकिन लागेको बेला प्रजिअहरुको बैठकले निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो । कोरोना संक्रमणको दर घटे पनि जोखिम घटिनसकेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रजिअहरुको तयारी छ । तर निषेधाज्ञाका प्रावधानहरुलाई चाहिँ खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।

अब थपिने निषेधाज्ञामा हार्डवेयर पसल कुनै समय खोलन दिने बारे छलफल भएको छ । यसै गरी किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिएकोमा अब विहान ११ बजे सम्म खोल्न दिने भन्ने विषयमा छलफल भएको प्रजिअ पराजुलीले बताए । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि केही समय थप हुन सक्ने भएको छ ।

थप निषेधाज्ञामा सार्वजनिक यातायात, निजी सवारी साधन र अनावश्यक हिँडडुललाई भने कडाइ गरिने भएको छ । काठमाडौं उपत्यकामा प्रशासनले निषेधाज्ञा लगाएको डेढ महिना नाघिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार