उपराष्ट्रपति निर्वाचनमा यादवलाई ६ दलको समर्थन

Image

काठमाडौँ – उपराष्ट्रपति निर्वाचनमा जसपा संसदीय दलका नेता रामसहाय यादवले ६ दलको समर्थन प्राप्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको प्रस्ताव तथा समर्थनमा उम्मेदवारी दिएका यादवलाई जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन पक्का भएको हो । जनमत पार्टीकी ममता झालाई समर्थन गरेको लोसपा पनि यादवको पक्षमा सकारात्मक देखिएको छ । जनमत पार्टी भने गठबन्धनबाटै मित्रवत् प्रतिस्पर्धामा अघि बढेको छ ।

गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि बढेका यादवले मंगलबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेर मत माग्दा सकारात्मक जवाफ पाएका छन् । लोसपा गठबन्धनको सल्लाहअनुसार अघि बढ्ने प्रतिबद्धता महतोको थियो ।

मंगलबारै यादवले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा भेटेर मत मागेका छन् । चौधरीले मत दिने वचन दिएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र अन्य शीर्ष नेतासँग संवाद गरी यादवको पक्षमा मतदान गर्ने प्रतिबद्धता चौधरीले जनाएको सांसद प्रदीप यादवले जानकारी दिए ।

मौन अवधि सुरु

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन ९कसुर तथा सजाय० ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न-गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।’

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ (चार) जना उम्मेदवार रहेका छन् । यद्दपि प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छन् । उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।