गण्डकीमा नयाँ सरकारको पहिलो बैठक: पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन बनाउने निर्णय

सरकारको प्रवक्तामा कुमार खड्का, बजेट मुख्यमन्त्रीले नै वाचन गर्ने

गण्डकीमा नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे ऐन बनाएर अघि बढ्ने निर्णय भएको छ ।

शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार बिहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्तामा कुमार खड्कालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँगको छलफलपछि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । संवैधानिक व्यवस्थाअनुसार असार १ गते अनिवार्य बजेट ल्याउनुपर्ने भएपनि तीन दिन अगाडि मात्र नयाँ सरकार गठन भएकाले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको सल्लाह अनुसार अगाडि बढ्ने गरी तयारी गरिएको हो ।

प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् । जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ । त्यसको पूर्वसन्ध्यामा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका खड्काले भने, ‘उहाँसँग मुख्यमन्त्री (कृष्णचन्द्र नेपाली पोखरेलसँग) अहिले अर्थमन्त्रालय पनि छ । बजेट नीति तथा कार्यक्रम पनि उहाँले नै वाचन गर्नुहुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार