अर्थतन्त्रका बाह्य सूचकमा सुधार, तर वित्तीय क्षेत्र दबाबमै

'विदेशी मुद्रा सञ्चिति : १० महिनाको आयात धान्न सकिने'

काठमाडौँ – माघ महिनामा महंगी ७.८८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघमा मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले जारी गरेको ७ महिनाको तथ्यांकअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

सात महिनामा भित्रियो करिब सात खर्ब रेमिट्यान्स

नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीले चालू आर्थिक वर्षको ७ महिनामा करिब ६ खर्ब ९० अर्ब रुपैयाँ स्वदेश पठाएका हुन्।

गत आर्थिक वर्षको सोही अवधिभन्दा २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड बराबर रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा हेर्ने हो भने विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ।

विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको आयात धान्न सकिने

चालू आर्थिक वर्ष ०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ।गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १३.८ प्रतिशतले बढेर माघ मसान्तसम्म रु १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ। जुन १०.२ प्रतिशतले वृद्धि हो।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १२ खर्ब २८ अर्ब पाँच करोड छ। त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु एक खर्ब ५५ अर्ब २८ करोडबराबर रहेको छ। माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत छ।

आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, यो मुद्रा सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ। माघ मसान्तसम्ममा कायम रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २८.५ प्रतिशत बराबर हो।

सम्बन्धित समाचार