माओवादी घटकको बैठक : पार्टी एकता गर्न प्रचण्डको प्रस्ताव
'परिवर्तनका उपलब्धि गुम्ने खतरा रहेकाे चेतावनी'
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटकहरु एक हुनुपर्ने बताएका छन् ।मंगलबार आठ माओवादी धारको बैठकमा बोल्दै प्रचण्डले सबै पूर्व माओवादीहरू एक हुनुपर्ने बताएका हुन् । बैठकमा उनले पार्टी एकताको प्रस्ताव समेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले माओवादी धार सकेसम्म एकता नभए संयुक्त मोर्चा बनाएर जान प्रस्ताव गरेको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले बताए ।
‘माओवादी आन्दोलन फुटेर कमजोर भयो । हाम्रा कमीकमजोरीहरू के के हुन ? सबैका कमी कमजोरी भएर नै यो अवस्था आयो’ प्रचण्डको भनाई उदृढ गर्दै गजुरेलले भने, ‘मेरो तर्फबाट कमजोरी भएको हो भने कन्भिन्स गर्नुस् सच्याउन तयार छु । अरूबाट कमजोरी भए सच्याएर जाने अवस्थामा जानुपर्छ ।’
यदि माओवादी कमजोर भएमा परिवर्तनका उपलब्धि समेत गुम्न सक्ने प्रचण्डले बताए । माओवादी धार एक भएमा सङ्क्रमणकालीन न्याय समेत टुङ्गो लगाउन सजिलो हुने प्रचण्डको भनाई छ ।