आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदको अभिमुखीकरण कार्यक्रम गर्दै

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

कार्यक्रम आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् । आठ दलीय गठबन्धनको औचित्यबारे बोल्दै राष्ट्रपतिका उम्मेदवार पौडेलको पक्षमा मत माग्ने उद्देश्यले उनीहरुले यो कार्यक्रम आयोजना गरेका हुन् ।

यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार