सर्वदलीय बैठकको निष्कर्ष: विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउने जिम्मा दलहरुको

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सभामुख अग्नि सापकोटाले पूर्व प्रधानमन्त्री सहित विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले संसद् विघटन, अदालतमा रहेको मुद्दा र पछिल्ला घटनाक्रमका विषयमा विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेका हुन् । छलफलका क्रममा दलका शीर्ष नेताहरूले संसद् विघटनदेखि चूरे दोहन गर्ने अलोकतान्त्रिक निर्णय सरकारले गरेको धारणा राखेका थिए । त्यस्तै उनीहरुले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा पनि सरकारको पर्याप्त ध्यान जान नसकेको बताएका थिए । उनीहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

बैठकपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले चुनावको घोषणा गरे पनि चुनाव गर्ने नियत नदेखिएकोमा सबैको एकमत रहेको बताए । त्यस्तै चुरेका विषयमा बजेटमा आएका विषयमा पनि दलहरूको असन्तुष्टि रहेको जिकिर गरे । देशको संविधान र व्यवस्था नै विफल पार्ने गरी षडयन्त्र भइरहेको उनको आरोप थियो । सर्वोच्चबाट प्रतिनिधिसभा पुनः स्थापना भए त्यो सबैभन्दा उपयुक्त निकास हुने डा. भट्टराईको भनाइ थियो ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चले न्याय दिनेमा सबै पार्टीको विश्वास रहेको बताए । अहिलेको अवस्थाका कसरी अघि बढ्ने भन्नेमा छलफल केन्द्रित रहेको उनले बताए । उनले अहिले जसपा एकै रहेको र पार्टीभित्र विवाद मात्र रहेको तर्क गरे । उनले नागरिकताको कानुन सरकारले संसद्बाटै पारित गराउनुपर्ने बताए ।

सभामुख सापकोटाले अहिले लोकतन्त्र र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउने जिम्मा सबैको काँधमा आएको बताएका थिए । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका असन्तुष्ट नेता माधव नेपाल, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी थिए । प्रधानमन्त्री केपी ओलीलाई पनि बैठकमा सहभागी हुन आमन्त्रण गरे पनि उनी सहभागी भएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार