श्रीमतीलाई मारेर मर्स्याङदी नदीमा फाल्ने पक्राउ

श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङदी नदीमा फालेको आरोपमा एक पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटना लगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताए । नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए।

कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँगै बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले ६ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार