कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आजै प्रदेश प्रमुखसमक्ष जाँदै विपक्षी गठबन्धन

गण्डकीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ ।

विपक्षी गठबन्धनका एक नेताले जानकारी दिएअनुसार नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ५ बजेपछि गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उपस्थित हुन लागेको हो । त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय पनि मागिएको उनले बताए ।

अहिले गठबन्धनका सांसदहरु भेला हुने क्रम सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको पनि उनले बताए ।

आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् । उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्नलाई ३१ सांसद्को समर्थन आवश्यक पर्छ । नेपालीको पक्षमा बहुमत पुगेको खण्डमा उनी आजै मुख्यमन्त्री नियुक्त हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार