दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग सभामुखसँगको छलफल जारी

ओली आएनन्, खनाल भर्चुअल माध्यमबाट सहभागी

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूसँग सभामुख अग्निप्रसाद सापकोटा छलफलमा जुटेका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले छलफलका लागि आमन्त्रण गरेका थिए ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा गरिएको थियो । तर उनी उपस्थित छैनन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक चलिरहेको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राप्रपाका दीपक बोहरालगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार