क्रेनले प्रसारण लाइनमा छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु

सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । यहाँबाट पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।

उनका अनुसार परी लोवेट चालक बडीगङ्गा गाउँपालिका–५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ः४० बजेको समयमा सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिए ।

यस्तै सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीया लीला परियार सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाई अवरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए । सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार