गण्डकीका खेलकुदमन्त्री गुरुङले दिए पदबाट राजीनामा

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्न लागेकोले संसद् बचाउन आफू मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको समेत मनाङेले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

लगत्तै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री गुरुङलाई बर्खास्त गरेका छन् । बिहीबार राती नै मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखलाई पत्र पठाएर सो बारे जानकारी गराएका हुन् ।

बुधबार बेलुकाबाट सम्पर्कबिहीन भएका भनिएका मन्त्री गुरुङ बिहीबार मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने बेलामा संसदमा उपस्थित भएका थिएनन् ।

मनाङेले आफु पोखराको साङग्रिला रिसोर्टमा बसेको जानकारी दिएका छन् । मनाङे मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार