भोलिबाट युरोकप फुटबल सुरु, उद्घाटन खेलमा टर्की र इटाली भिड्ने

यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलि शुक्रबारबाट सुरु हुँदैछ । भोलि जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो ।

यसैबीच युरोकप खेलिने युरोपका विभिन्न ११ वटा रंगशालाको साजसज्जा तयार गरी चिटिक्क पारिएका छन् । युरोपेली फुटबलको सर्बोच्च निकाय यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्दै निर्णय गरिसकेको छ ।

इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् भने फाइनल खेल लण्डनमा हुने तालिका छ । सन् १९६० मा फ्रान्सको आयोजनामा भएको पहिलो संस्करणको युरोकपमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो ।

युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ । यसअघि सन् २०१६ मा भएको युरोकपको उपाधि पर्च्युगलले जितेको थियो । सन् २०२० मा हुनुपर्ने युरोकप कोरोना महामारिका कारण एकबर्ष पछि सारिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार