योगेश भट्टराई निकट गणेश पहाडी सामान्य प्रशासनमन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । हाल आफूसँग राखेका आठ वटा मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरेका हुन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।

पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा थिए । नवौं महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका हुन । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् । माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुसँग संवाद भइरहे पनि मन्त्री बन्न नमानेपछि योगेश भट्टराईनिकट पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाइएको हो ।

अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार