निर्माणाधिन खानेपानी आयोजना अवरुद्धः आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी

स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम अवरुद्ध भएको छ । स्थानीयवासीबीचको आपसी विवादका कारण पाँच महिनादेखि सो आयोजनाको काम ठप्प भएकोे हो ।

सुस्ता गाउँपालिका—५ स्थित नारायणी नदीपारी सुस्ताका स्थानीयवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा खानेपानी आयोजना निर्माण थालिएको हो । २०७६ माघदेखि निर्माण शुरु भएको आयोजनाको काम गत माघ महिनादेखि अवरुद्ध रहेको खानेपानी तथा सरसफाई संस्था सुस्ताका अध्यक्ष मुन्सीकुमार हरिजनले जानकारी दिए । स्थानीय अगुवाहरुले नै काम गर्न नदिएको उनको गुनासो छ । संस्थामार्फत काम भइरहेकै बेला स्थानीय अगुवाहरुले नै अर्को उपभोक्ता समितिसमेत गठन गरेर आफूहरुले काम गर्न पाउनुपर्ने भन्दै विवाद झिकेपछि निर्माण कार्यमा बाधा पुगेको उनले बताए ।

लामो प्रयासपछि आएको खानेपानी आयोजनाको काम अलपत्र परेपछि सुस्तावासी चिन्तित भएका छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न गरी सुस्तावासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी आयोजनाको निर्माण थालिएको थियो । गत वर्ष बोरिङ्गको काम सफल भएपछि दुई डिप ट्युबेल गाडिएको संस्थाले जनाएको छ । यसवर्ष आयोजनाको क्षेत्र चारैतिरबाट पर्खालले घेर्ने, माटो पुर्ने र गेट निर्माण गर्ने कार्य भइरहेको थियो । “हामीले अहिलेसम्म रु ४१ लाखको काम सम्पन्न गरी थप निर्माण कार्य अघि बढाइरहेका थियौँ, तर अहिले आएर विवाद नमिल्दा काम ठप्प भयो”, अध्यक्ष हरिजनले भने ।

उक्त क्षेत्रमा खानेपानी ट्याङ्की निर्माणका लागि टेन्डर आह्वान भइसकेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । “नेपाली भूमि रक्षा गर्दै आएका सुस्तावासीलाई आर्सेनिक र आइरनयुक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता हटाई शुद्ध पिउने पानी उपलब्ध गराउन प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा काम भइरहेको छ”, उनले भने । पुरानो संस्थाले सम्झौता गरी काम अघि बढाइरहेका बेला अर्को उपभोक्ता समिति गठन भएपछि विवाद भएको बताउँदै अध्यक्ष पाण्डेले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको रोहबरमाा दुवै समितिबाट प्रतिनिधित्व हुने गरी काम अघि बढाउने सहमति भएको उनले जानकारी दिए ।

आयोजना निर्माण सम्पन्न भएपछि यहाँका दुई सय ६५ घरपरिवार शुद्ध पिउने पानीको पहुँचमा पुग्ने उनले बताए । अहिले त्यस क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका छन् । आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा छालाका रोगहरु, आन्द्रा, दाँतको सङ्क्रमणसँगै दीर्घकालीन आर्सेनिकोसिस रोग लागि छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहको चिकित्सकहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार गर्भवती महिलालाई समेत आर्सेनिकयुक्त पानीले असर पु-याउँछ । लगातार दुईदेखि १० वर्षसम्म आर्सेनिक धेरै भएको पानी खाने मानिसलाई रोग देखिन सक्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ ।

निर्धारित मापदण्डअनुसार पानी न्यूनतम् १० माइक्रोग्राम प्रतिलिटर आर्सेनिक भए बाह्य सरसफाइका लागि प्रयोग गर्न सकिने र न्यूनतम शून्य दशमलब ०५ माइक्रो प्रतिलिटर मात्रै पिउन योग्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले भने एक लिटरमा १० माइक्रो ग्रामसम्म आर्सेनिकयुक्त पानी पिउन योग्य मानेको छ । तर त्यस क्षेत्रमा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ३० देखि ५० पिपिएसम्म रहेको बताइएको छ । यो आयोजना सम्पन्न भएपछि शुद्ध पिउने पानी प्रयोग गर्न पाउनुका साथै रोगबाट पनि मुक्ती पाइने स्थानीय कमल हरिजनले बताए ।

वि. सं २०२२ सालदेखि बसोबास गर्दै आएका सुस्तावासी अहिलेसम्म शुद्ध पिउने पानीको पहुँचबाट वञ्चित छन् । पछिल्लो पटक तीनै तहका सरकारले यहाँको विकासमा ध्यान दिन थालेपछि सुस्तावासी हर्षित छन् । तर, आपसी विवादमा परेर विकासको कामलाई अवरोध गर्न नहुने स्थानीयवासीको माग छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार